अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा ओखलढुङ्गाबाट २११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । आयोगको बर्दिवास कार्यालयले ओखलढुङ्गा सदरमुकाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा आयोगको केन्द्रिय कार्यालय टंगालका प्रवक्ता एवम् सहसचिव राजेन्द्र कुमार पौडेल र आयोगको बर्दिवास कार्यालयका उपसचिव तुलसीराम पाैडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत संघ, प्रदेश तथा जिल्लामा भ्रष्टाचार र उजुरीको अवस्था, भ्रष्टाचार हुने कारण, उजुरी, मुद्धा प्रक्रिया, भ्रष्टाचार न्यूनिकरणका उपाय र भ्रष्टाचार गरेमा हुने सजायका बिषयमा जानकारी गराइएको थियो ।
आयोगको केन्द्रिय कार्यालय टंगालका प्रवक्ता पौडेलका अनुसार चालु आर्थिक बर्षमा जिल्ला बाट संघीय कार्यालय तर्फ १३, प्रदेश अन्तरर्गत १२ र स्थानीय तहका ९९ उजुरी गरि कुल १२४ उजुरी परेको छ । जसमा संघका छ, प्रदेशका पाँच र स्थानीय तहका ६९ उजुरी गरि ८० वटा फछ्र्यौट भएको पौडेलले जानकारी दिए ।
यस्तै आयोगको बर्दिवास कार्यालयका उपसचिव पाैडेलका अनुसार ओखलढुङ्गाबाट ८७ वटा उजुरी परेको छन् । ५० वटा फछ्र्यौट भइसकेका छन् । ३७ वटा बाँकी रहेको पराजुलीको भनाई छ ।
स्थानीय तहहरु मध्ये चम्पादेवी गाउँपालिकामा सबैभन्दा बढी १७ वटा र लिखु तथा सुनकोशी गाउँपालिकामा सबैभन्दा कम पाँच÷पाँच वटा उजुरी परेका छन् । चम्पादेवी गाउँपालिकाको १४ वटा मुद्दा फछ्र्यौट भएका छन् । चिशंखुगढी गाउँपालिकामा १४ वटा उजुरी परेकोमा सात वटा फछ्र्यौट भएका छन् ।
मानेभञ्ज्याङमा ११ वटा उजुरी परेकोमा नौ वटा फछ्र्यौट भएका छन् । सिद्धिचरण नगरपालिकामा १० वटा उजुरी परेकोमा तीन वटाफछ्र्यौट, मोलुङमा नौ वटा उजुुरी परकोमा छ वटा फछ्र्यौट भएका छन् । लिखु गाउँपालिकामा पाँच वटा उजुरी परेकोमा तीन वटा फछ्र्यौट र सुनकोशी गाउँपालिकाको पाँच वटा उजुरी परेकोमा दुई वटा फछ्यौट भएको कार्यालयले जनाएको छ ।
बढी जसो आर्थिक र नीतिगत भ्रष्टाचारका बिषयमा उजुरी आउने गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया