ओखलढुंगामा यस वर्ष गहुँ उत्पादन बढ्यो

भिजन समाचार
50
Shares

ओखलढुंगामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा २७५ मेट्रिक टनले गहुँ उत्पादन बढेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चार हजार ७५.५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर, चालु वर्षमा उत्पादन बढेर चार हजार ३५० मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टिका बानियाले जानकारी दिए ।

यस वर्ष समयमै वर्षा हुनु, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय मल–बिउको उपलब्धता र रोग–कीराको प्रकोप नहुनुले उत्पादनमा वृद्धि भएको बानियाले बताए ।

अघिल्लो वर्ष हेक्टरको आधारमा गहुँको उत्पादकत्व १.९० मेट्रिक टन रहेकोमा यस वर्ष २.०३ मेट्रिक टन पुगेको केन्द्रको तथ्याङ्कले देखाएको छ । जिल्लामा हाल २ हजार १४५ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ ।

यस वर्षको उत्पादन वृद्धिलाई कृषकहरूका लागि उत्साहजनक संकेतको रूपमा लिइएको छ ।