ओखलढुंगामा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) र सुरक्षित आवास गृह (सेफ हाउस) को सेवालाई प्रभावकारी, गुणस्तरीय र गुनासोरहित बनाउन निर्देशिका तयार गरिएको छ ।
लैंगिक हिंसा रोकथाम र हिंसाबाट पीडितहरुको उपचार तथा संरक्षणमा क्रियाशील ओसिएमसी र सेफ हाउसको विद्यमान सेवालाई सधार गर्न तयार मस्यौदा माथि छलफल भएको हो ।
जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजना, न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) र युएनएफपीएको सहयोग तथा सहकार्यमा मस्यौदामा भएका बिषयबारे सरोकारवालासँग छलफल गरिएको छ ।
कार्यक्रममा अधिवक्ता डा. विद्या चापागाईँले निर्देशिकामा समावेश भएका बिषयबस्तुबारे प्रस्तुतिकरण मार्फत जानकारी गराएकी थिइन् ।
सुरक्षित आवास गृह र ओसिएमसीको सेवालाई प्रभावकारी, प्रभावितमैत्री, गुणस्तरीय र गुनासोरहित बनाउन गुनासो सुनुवाई संयन्त्र र व्यवस्थापन निर्देशिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।
उक्त निर्देशिकामा थप्नुपर्ने र सच्याउनुपर्ने बिषयका बारेमा जिसस प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुखहरु, नगरपालिका तथा गाउँपालिकाका उप–प्रमुखहरु, कर्मचारी र सरोकारवाले आ–आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रियाबाट आएका सुझावलाई मध्यनजर गर्दै मस्यौदालाई अन्तिम रुप दिई निर्देशिकाको रुपमा कायान्वयनमा ल्याइने युएनएफपीएका कार्यक्रम संयोजक रेखा श्रेष्ठले जानकारी दिइन् ।
अन्तक्रियाबाट विभिन्न चार वटा निर्णय पनि भएका छन् । जसमा जिल्लास्थित एकद्वार संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृहमा विद्यमान गुनासो सुनुवाई संयन्त्रमा लैङ्गिक दृष्टिकोण अवलम्बन गर्न प्रस्तुत दुईवटा मस्यौदामा छलफलबाट आएका बिषयलाई निर्देशिकामा समावेश गर्ने पहिलो पहिलो निर्णय भएको छ ।
यस्तै मस्यौदाका विषयमा आवश्यक समीक्षा गरी कार्यान्वयनका लागि अघि बढ़ने सैद्दान्तिक सहमती तथा निर्णय भएको छ ।
सबै पालिकाहरुको सहमतीमा सिद्धिचरण नगरपालिकाले तयार पारिएको मस्यौदा सुरक्षित आवास गृह सञ्चालन कार्यविधिमा आइतबार प्रस्तुत गरिएको गुनासो सुनुवाई संयन्त्रको विषयलाई उक्त कार्यविधिमा समावेश गरी अन्तिम रुप दिने निर्णय भएको छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्र सल्लाहकार समितिमा प्रस्तुत गरिएको मस्यौदा पेश गरी पारित गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया