चिशंखुगढीमा शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण

भिजन समाचार
16
Shares

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा चिशंखुगढीमा आधारभूत शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शेर्पा संघ, जिल्ला कार्यसमितिको आयोजना तथा संघ चिशंखुगढी गाउँपालिकाको समन्वयमा बैशाख १ गतेबाट शुरु भएको प्रशिक्षण एक समारोहकावीच सम्पन्न भएको हो ।

प्रशिक्षणमा चिशंखुगढी ४ मा २५ जना र वडा नं. ७ मा ४५ बढीको सहभागिता रहेको थियो । प्रशिक्षणमा शेर्पा संस्कृति, सामभोटा लिपी, विभिन्न धार्मिक तथा परम्परागत कार्यहरुमा गरिने पूजाविधिको बारेमा प्रशिक्षण सञ्चालन गरिएको नेपाल शेर्पा संघ चिशंखुगढी गाउँपालिका समितिका अध्यक्ष पासाङ लाक्पा शेर्पाले जानकारी दिए ।

लोपेन रिन्छेन शेर्पाले सहजीकरण गर्नुभएको प्रशिक्षण प्रभावकारी भएको र यसबाट शेर्पा जातिको पहिचान, परम्परागत मान्यता, बौद्ध धर्म विधि अनुसार दैनिक रुपमा गरिने पूजापाठ, स्वागत, सम्मान गर्दा गाइने गीतहरु सिक्ने अवसर पाएको प्रशिक्षार्थी पलामू शेर्पाको भनाई छ ।

नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पाको विशेष उपस्थितीमा संघका सचिवालय सदस्य मिङमार सार्की शेर्पा, जिल्ला अध्यक्ष आङ पेम्बा शेर्पा लगायतको सहभागितामा तालिम सम्पन्न भएको आयोजकले जनाएको छ ।