ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले विकास आयोजनाको कामलाई दिगो, गुणात्मक र परिमाणात्मक बनाउन अनुगमन गरेको छ ।
चालु आर्थिक बर्षमा विनियोजित बजेटबाट सम्पन्न भएका विभिन्न साना आयोजनाको नगर उप–प्रमुख केदारबाबु बस्नेत र प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेको संयोजकत्वमा अनुगमन भएको हो ।
निर्माण सम्पन्न आयोजनालाई भुक्तानी गर्न र निर्माणाधिन आयोजनाहरुलाई थप गुणस्तरीय तथा दिगो बनाउन अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
आइतबार सिद्धिचरण नगरपालिका १२ मा स्थित सिमलडाँडाबाट गएको भल व्यवस्थापन गिरीटोल आयोजना, कुँडारबारी–मञ्चने डाँडा–शिव मन्दिर हँदै सिद्धिचरण पार्क सडकखण्डको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको काम, डिभिजन वन कार्यालय नजिकैको ढल व्यवस्थापन आयोजनाको अनुगमन गरिएको थियो ।
यस्तै सिद्धिचरण ११ रमाइलोडाँडाको सडक मर्मत आयोजना, जाल्पा मन्दिर नजिकको सडक मर्मत आयोजना, गैरिगाउँ भल व्यवस्थापन आयोजना र सिद्धिचरण–८ लगलगेमा घर अघिको पहिरो व्यवस्थापन आयोजनाको विज्ञ इन्जिनियर सहितको टोलीद्वारा अनुगमन गरिएको उप–मेयर केदारबाबु बस्नेतले बताए । अनुगमन गरेका आयोजनाहरुका कामहरु सन्तोषजक रहेको पाइएको उनको भनाई छ ।
सिद्धिचरण–१२ भडारे गिरि टोल भल व्यवस्थापन आयोजना लगायतका केहि आयोजनामा उपभोक्ता समितिले निकै राम्रो काम गरेको पाइएको नगरपालिका पुर्वाधार शाखाका इन्जिनियर दिव्य श्रेष्ठले बताए । विकासका कामलाई दिगो र गुणस्तरीय बनाउन अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
बर्षायाममा आउने भल, ढल र पहिरो व्यवस्थापनका लागि विनियोजित बजेटबाट भएका कामले बस्ती, घर तथा स्थानीयलाई बर्षातका कारण हुने भल पहिरोको जोखिम टरेको बताएका छन् ।

प्रतिक्रिया