सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ओखलढुंगामा बिहीबारबाट ट्राफिक सप्ताह सुरु भएको छ । ‘सेफ ड्राइभ, लङ्ग लाइफ’ भन्ने नारा सहित सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको सहयोग एवम् सहकार्यमा सचेतना अभियान थालिएको हो ।
पहिलो दिन सिद्धिचरण नगरपालिका १२ स्थित गणेश मन्दिरबाट प्रभात फेरी सुरु गरि बजार क्षेत्र परिक्रमा गर्दै सिद्धिचरण–११ स्थित रमाइलोडाँडामा पुगेर ट्राफिक सप्ताह विशेष कार्यक्रम भएको थियो ।
कार्यक्रमको सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनाल र प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकालले विद्यार्थीलाई हेल्मेट लगाइ दिएर उद्घाटन गरेका छन् ।
ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि नागरिक आफै सचेत हुनुपर्ने बताए । यस्तै दुर्घटना न्यूनीकरणको लागि चालकले पनि सवारी नियमको पूर्ण पालना गर्नुपर्नेमा उनको जोड थियो ।
सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाले विभिन्न काम गरिरहेको बताउँदै मेयर खनालले चालकहरुलाई बेलाबेलामा सचेतनामूलक प्रशिक्षण दिन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकालले साताव्यापी सचेतना कार्यक्रमले सवारी अनुशासन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । सचेतनाले पनि दुर्घटना रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
सडक दुर्घटनासम्बन्धी सचेतना बढाइ व्यक्ति र समुदायलाई सतर्क एवम् सुरक्षित बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम थालिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले बताएका छन् ।
सचेतना र रोकथामका लागि गरिएका प्रयासले पछिल्लो समय केहि हदसम्म जिल्ला दुर्घटना न्यूनीकरण भएको समत उनको दाबी छ । जिल्ला सदरमुकामको सवारीलाई व्यवस्थित बनाउन सबै सरोकारवाला जुट्न प्रनाउ खड्काले आग्रह गरेका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रचार पम्प्लेट वितरण, टाइम कार्डको अनुगमन, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, समुदाय, विद्यार्थी तथा यात्रु सचेतना, सिट क्षमता आरक्षण अनुगमन, सवारीको यान्त्रिक परीक्षण लगायत सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव निरीक्षक प्रवीण कार्कीले जानकारी दिएका छन् ।
बिहान भएको प्रभात फेरि कार्यक्रममा विभिन्न सचेतनामूलक नारा लेखिएका प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो । जसमा तिब्र गति जीवन क्षति, ट्राफिक नियम जानौँ पनि मानौं पनि, आफ्नो लेन चिनौं, सहि लेनमा हिडौं, सिट क्षमता भन्दा बढी यात्रु नराखौँ लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
साताव्यापी ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख खनाल, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, चालक, यात्रु, यातायात व्यवसायी, विद्यार्थी लगायतको सहभागीता थियो ।
जिल्लामा चालु आर्थिक बर्षको १० महिनामा भएका सवारी दुर्घटनाबाट सात जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ । सचेतना जगाएर दुर्घटना न्यूनीकरण गर्ने योजनासहित बिहीबारबाट सुरु भएको साताव्यापी ट्राफिक सप्ताह आगामी असार १२ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सहित सञ्चालन हुनेछ ।


प्रतिक्रिया