ओखलढुंगामा चाडपर्व लक्षित सडक सुरक्षामा जोड


ओखलढुंगा । चाडपर्वका बेला बढ्ने सवारीसाधन तथा यात्रुको चापसँगै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ओखलढुंगामा सडक सुरक्षा र यातायात व्यवस्थापनमा कडाइ गरिने भएको छ । सडकको अवस्था सुधारदेखि सवारीसाधनको नियमित जाँच तथा चालकको व्यवहार निगरानीसम्मका उपाय प्रभावकारी बनाउने निर्णय गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा भएको चाडपर्व लक्षित सडक सुरक्षा तथा यातायात व्यवस्थापनसम्बन्धी छलफलमा १३ बुँदे निर्णय गरिएको छ । छलफलमा चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना रोकथाम, यात्रुको सुरक्षित आवागमन तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी सहायक निरीक्षक अनिश खड्काका अनुसार चाडपर्वका बेला सवारी साधनको चेकजाँच तथा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ । सम्भावित जोखिम र समस्या पहिचान गरी दुर्घटना न्यूनीकरणका लागि आवश्यक योजना बनाउने तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरिएको छ ।

बैठकले जिल्लाका ग्रामीण सडकको अवस्था सुधार तथा आवश्यक स्थानमा मर्मत गर्ने विषयमा समेत जोड दिएको छ । जीर्ण तथा जोखिमयुक्त सडकका कारण हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सडक मर्मत तथा व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी चालकले ट्राफिक नियम पालना गरे–नगरेको निगरानीमा कडाइ गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यको चेकजाँच थप प्रभावकारी बनाउने निर्णय भएको छ । सवारीसाधनको यान्त्रिक अवस्था नियमित रूपमा जाँच गर्न चालक तथा सवारीधनीलाई सचेत गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

चाडपर्वका समयमा लामो तथा छोटो दूरीका यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यात्रु सहायता कक्ष स्थापना गरी आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ । यात्रुलाई टिकट, भाडादर, सवारीसाधन तथा यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने र समस्या परे तत्काल सहजीकरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले चालक, यात्रु तथा अन्य सरोकारवालाबीच सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने निर्णय पनि गरेको छ । सडकमा हुन सक्ने जोखिमबारे समयमै जानकारी गराउने तथा सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन सार्वजनिक रूपमा अपिल गर्ने तयारी गरिएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत जिल्लाका सडकको अवस्था, सवारीसाधनको यान्त्रिक अवस्था, चालकको व्यवहार तथा ट्राफिक नियमको पालनालगायतका विषयमा निगरानी बढाइने प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

उनका अनुसार चाडपर्वका बेला सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले नियमित अनुगमन, सवारी जाँच र सडक सुरक्षा गतिविधिलाई थप प्रभावकारी बनाउँदै सम्भावित दुर्घटना रोकथाममा सबै पक्षको सहकार्य आवश्यक रहेको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनसहित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायी र पत्रकारहरूको सहभागिता थियो ।

छलफलबाट चाडपर्वमा यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायबीच समन्वय र साझा प्रतिबद्धता कायम गर्ने निर्णय भएको छ । सम्बन्धित निकायले सडक सुरक्षा, सवारी जाँच र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्भावित दुर्घटना तथा यात्रुले भोग्न सक्ने समस्या न्यूनीकरण गर्ने तयारी गरेका छन् ।