खोरेतविरुद्धको खोपकर्तालाई अभिमुखीकरण

भिजन समाचार
10
Shares

ओखलढुंगा । ओखलढुंगामा खोरेत रोगविरुद्धको खोप अभियानमा सहभागी हुने ५१ जना खोपकर्तालाई खोप कार्य अभिलेखीकरण सफ्टवेयर ‘एभिस’ सम्बन्धी अभिमुखीकरण दिइएको छ ।

खोप अभियानका क्रममा संकलन हुने विवरणलाई व्यवस्थित तथा चुस्तदुरुस्त राख्न र अनलाइन अभिलेखीकरणलाई सहज बनाउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाले अभिमुखीकरण आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहबाट खोपकर्ताको सहभागिता रहेको थियो ।

केन्द्रका निमित्त प्रमुख गणेशप्रसाद भट्टराईका अनुसार खोप अभियानका क्रममा संकलन हुने तथ्यांकलाई व्यवस्थित बनाउन ‘एभिस’ प्रणालीको प्रयोगसम्बन्धी प्रशिक्षण दिइएको छ ।

अभिमुखीकरणमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले सहजीकरण गरेका थिए । उनले ‘एभिस’ प्रणालीको प्रयोगसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा खोरेतविरुद्धको खोप सुरक्षित रूपमा भण्डारण तथा प्रयोग गर्ने तरिका र खोप लगाएपछि हुन सक्ने प्रतिकार्य व्यवस्थापनका विषयमा समेत जानकारी गराइएको थियो । सहभागी खोपकर्ताले अभिमुखीकरणबाट खोप अभियान सञ्चालन र अनलाइन अभिलेखीकरणमा सहज हुने बताएका छन् ।

ओखलढुंगामा आगामी असोज १५ गतेदेखि औपचारिक रूपमा खोरेतविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत जिल्लाका करिब ५१ हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।