ओखलढुंगा । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा काठ उत्पादन घटेको छ भने गैरकाष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन दोब्बरभन्दा बढीले बढेको छ ।
डिभिजन वन कार्यालय ओखलढुंगाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नौ लाख ८० हजार ७८८ दशमलव तीन क्युफिट काठ उत्पादन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा सात लाख ३२ हजार ९८४ दशमलव ८४ क्युफिटमा झरेको हो ।
कार्यालयकी वन अधिकृत सजना पाण्डेका अनुसार काठ उत्पादन घटे पनि गैरकाष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन भने उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा तीन लाख तीन हजार ७२६ दशमलव आठ किलोग्राम उत्पादन भएकोमा २०८२/८३ मा सात लाख एक हजार ६९ किलोग्राम पुगेको छ ।
यसैगरी, खोटोको उत्पादन भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक लाख १९ हजार २२० दशमलव आठ किलोग्राम खोटो उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७५ हजार ३३३ किलोग्राममा सीमित भएको कार्यालयले जनाएको छ ।
वन पैदावारको बिक्री वितरणबाट प्राप्त प्रदेश सेवा शुल्कतर्फ भने काठबाट प्राप्त रकम बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा काठबाट ४१ लाख १४ हजार चार रुपैयाँ प्रदेश सेवा शुल्क प्राप्त भएकोमा गत आर्थिक वर्षमा ४४ लाख ५७ हजार १९२ रुपैयाँ प्राप्त भएको छ ।
गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट गत आर्थिक वर्षमा ६५ हजार ५६५ दशमलव तीन रुपैयाँ र खोटोबाट सात हजार ८१ रुपैयाँ प्रदेश सेवा शुल्क प्राप्त भएको कार्यालयले जनाएको छ ।
मूल्य अभिवृद्धि करतर्फ भने काठबाट प्राप्त रकम घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा काठबाट दुई करोड ९८ लाख ९० हजार ७४६ रुपैयाँ मूल्य अभिवृद्धि कर प्राप्त भएकोमा गत आर्थिक वर्षमा दुई करोड ४३ लाख ४२ हजार ३१ रुपैयाँ प्राप्त भएको छ ।
तर, गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट प्राप्त मूल्य अभिवृद्धि कर भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३८ हजार ९२६ रुपैयाँ रहेको यस्तो कर गत आर्थिक वर्षमा बढेर १३ लाख ११ हजार ३०६ रुपैयाँ पुगेको छ । खोटोबाट प्राप्त मूल्य अभिवृद्धि कर भने एक लाख ८४ हजार २५ रुपैयाँबाट घटेर एक लाख ४१ हजार ६२० रुपैयाँमा झरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया