वन क्षेत्रबाट अनधिकृत संरचना हटाइयो

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ ।

वन क्षेत्रमा निर्माण गरिएका तीनवटा टहरा र दुईवटा शौचालय हटाइएको हो । डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनाराज राईका अनुसार संरचना हटाइएसँगै करिब शून्य दशमलव पाँच हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ ।

स्थानीय लालबहादुर विश्वकर्माले सामुदायिक वनको क्षेत्रमा ती संरचना निर्माण गरेको कार्यालयले जनाएको छ । सम्बन्धित व्यक्ति, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय तहका प्रतिनिधिसहितको संयुक्त टोलीले आपसी समझदारीमा संरचना हटाएको हो ।

वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउन अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिइने डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।