पहिरोले सोलुको हुंगा खोला थुनियो, दूधकोशीमा बाढीको जोखिम

भिजन समाचार
0
Shares

ओखलढुंगा । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोलामा पहिरो गएर खोला थुनिएपछि दूधकोशी नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहका अनुसार पहिरोले खोला थुनिँदा करिब १०० मिटर लम्बाइ र १५ देखि २० मिटर उचाइको ताल बनेको छ । थुनिएको पानी अचानक बग्न सक्ने सम्भावना रहेकाले हुंगा खोला आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हुंगा खोला सोलुखुम्बुको सोताङ र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखलढुंगाको दूधकोशी नदीमा मिसिन्छ । त्यसैले खोला थुनिएको पानी अचानक बगेमा तल्लो तटीय क्षेत्रसमेत प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले हुंगा खोला तथा दूधकोशी नदी आसपासका बासिन्दालाई नदी तथा खोला किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ ।