ओखलढुंगा । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको सवारी दुर्घटनामा परी सुनकोसी नदीमा बेपत्ता भएका तीन यात्रुको खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले सुनकोसी नदी तथा नदी किनारमा खोजी गरिरहेका छन् । ड्रोन र म्याग्नेटको प्रयोग गरिए पनि ती यात्रु र कार अझै फेला परेका छैनन् । नदीमा पानीको बहाव तीव्र भएकाले खोजी कार्य कठिन भएको प्रहरीले जनाएको छ ।
घटनाको विरोधमा बेपत्ता व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले बुधबार पनि मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध गरेका छन् । पीडित पक्षले बेपत्ता व्यक्तिको शीघ्र खोजी, उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका हुन् । तीन दिनदेखि सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर र उदयपुरबाट काठमाडौँ आवतजावत गर्ने सयौँ यात्रु प्रभावित भएका छन् ।
सोमबार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा निर्माण व्यवसायी दिलकुमार लामा, गणेश थापा र सुजन बलम्पाकी मगर बेपत्ता छन् । बस चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया