खुर्कोट–घुर्मी सडक अवरुद्ध, यात्रु र सवारी साधन अलपत्र

भिजन समाचार
88
Shares

ओखलढुंगा । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ लगायत पूर्वी जिल्लातर्फ आउने तथा काठमाडौंतर्फ जाने सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित बसको ठक्करबाट सुनकोसी नदीमा कार खसेर तीन जना बेपत्ता भएको घटनापछि पीडित परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन, पीडितलाई उचित क्षतिपूर्ति दिन तथा दोषीमाथि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीले विहानै देखि गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गरेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए । सहमति नभए पछि मध्यपहाडि लोकमार्ग अन्तर्गत खुर्कोट घुर्मि सडक अबरोध अहिले सम्म नहटेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए ।

यसैबीच, सुनकोसी नदीमा बेपत्ता भएका तीन जना र कारको खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले मंगलबार बिहानदेखि खोजी गरिरहेका छन् ।

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार २० जना गोताखोर, २० जना नेपाल प्रहरी तथा दुई वटा डुङ्गाको प्रयोग गरी खोजी भइरहेको भए पनि अहिलेसम्म बेपत्ता व्यक्ति र कार फेला पर्न सकेका छैनन् । सुनकोसी नदीमा पानीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ आउदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित बेपत्ता भएका छन् । प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।