९६ प्रतिशत धान रोपाइँ सकियो

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । जिल्लामा हालसम्म ९६.८४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ भने करिब ४ प्रतिशत क्षेत्रफलमा अझै रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार साउन १८ गतेसम्म जिल्लाको कुल तीन हजार ८०३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये तीन हजार ६८२.७३ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । बाँकी करिब १२० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको उनले जानकारी दिए ।

गत वर्ष यही अवधिसम्म जिल्लाभर शतप्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो । तर यस वर्ष वर्षाको समय, मौसमको अनिश्चितता तथा स्थानीय अवस्थाका कारण रोपाइँको गति अघिल्लो वर्षको तुलनामा केही सुस्त देखिएको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार मौसम अनुकूल रहे बाँकी क्षेत्रमा पनि केही दिनभित्रै धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । रोपाइँ सकिएसँगै किसानहरू गोडमेल, मल व्यवस्थापन र बाली संरक्षणतर्फ केन्द्रित हुनेछन् ।

धान ओखलढुंगाको प्रमुख खाद्यान्न बालीमध्ये एक भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन वृद्धि र खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ । कृषि ज्ञान केन्द्रले किसानलाई मौसमको अवस्था अनुसार आवश्यक कृषि व्यवस्थापन अपनाउन समेत आग्रह गरेको छ ।