ओखलढुंगा । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा कारमा सवार तीन जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो १२:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशा खोटाङबाट आउँदै गरेको सडक विभाग, यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कारलाई ठक्कर दिएको हो ।
बस सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङले चलाएका थिए भने कार सिन्धुपाल्चोकका ३१ वर्षीय दिलकुमार लामाले चलाइरहेका थिए ।
ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्परसहित तीन जना बेपत्ता भएका छन् । कारमा कति जना सवार थिए भन्नेबारे एकिन भएकाे छैन ।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर बस र चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया