बसको ठक्करबाट यात्रुसहितको कार सुनकोसीमा खस्यो

भिजन समाचार
50
Shares

ओखलढुंगा । काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एउटा कार सुनकोसी नदीमा खस्दा कारमा सवार तीन जना बेपत्ता भएका छन् । दुर्घटना सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिँदा कार सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको हो ।

प्रारम्भिक जानकारी अनुसार तीन जना सवार रहेको अनुमान गरिएको छ । उनीहरूको आधिकारिक परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार दुर्घटनापछि कारसहित तीनै जना नदीमा बेपत्ता भएको आशंका गरिएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, खुर्कोटस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासी संयुक्त रूपमा उद्धार तथा खोजी कार्यमा खटिएका छन् ।

प्रहरीका अनुसार नदीमा खसेको कार र त्यसमा सवार व्यक्तिको यकिन विवरण अझै प्राप्त हुन सकेको छैन ।

दुर्घटनामा संलग्न बसका यात्रु भने सकुशल रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।