उत्कृष्ट सात कृषक सम्मानित, कोदो संरक्षणमा जोड


ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा दोस्रो राष्ट्रिय कोदो दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘कोदोबाली संरक्षण र प्रवर्द्धन : खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा धेरै कोदो उत्पादन गर्ने सात जना उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

माझचण्डेश्वरी कृषक समूहको आयोजना तथा सिद्धिचरण नगरपालिका र साहस नेपालको सह–आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय स्तरमा कोदो उत्पादन वृद्धि, रैथाने बालीको संरक्षण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

दिवसका अवसरमा रुम्जाटारका धेरै कोदो उत्पादन गर्दै आएका सात जना कृषकलाई सम्मान गरिएको सिद्धिचरण नगरपालिका कृषि शाखा प्रमुख भीम दर्जीले जानकारी दिए । सम्मानित पुरुष कृषकलाई ढाका टोपी, महिला कृषकलाई दोसल्ला तथा सबैलाई सम्मानपत्र प्रदान गरिएको दर्जीले बताए ।

कार्यक्रमको उद्घाटन कोदोको केक काटेर गरिएको थियो । उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले कोदो नेपाली समाजको परम्परागत, पौष्टिक तथा स्वास्थ्यवर्द्धक अन्नबाली भएकाले यसको उत्पादन र उपभोग दुवै बढाउनुपर्नेमा जोड दिए । आधुनिक कृषि प्रविधिसँगै रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कोदो स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक बाली भएकाले यसको उत्पादन, बजारीकरण तथा मूल्य अभिवृद्धिका लागि सम्बन्धित निकायले थप पहल गर्नुपर्ने बताए । किसानलाई सम्मान गर्ने यस्ता कार्यक्रमले कृषि पेशाप्रति आकर्षण बढाउनुका साथै स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने उनको विश्वास छ ।

दिवसको अवसरमा सहभागीहरूले रुम्जाटार बजार क्षेत्रमा कोदोको महत्व झल्काउने सचेतनामूलक र्याली निकालेका थिए । त्यसपछि सामूहिक रूपमा कोदो रोपाइँ गरिएको थियो भने कोदोबाट तयार गरिएका विभिन्न परिकारको स्वाद लिँदै यसको पोषण महत्वबारे जानकारी आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा कोदोको पोषण महत्व, खाद्य तथा पोषण सुरक्षामा यसको योगदान, जलवायु परिवर्तनसँग अनुकूल बालीका रूपमा यसको सम्भावना तथा व्यावसायिक खेती विस्तारका अवसरबारे पनि छलफल गरिएको थियो ।

दिवसमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, कृषि प्राविधिक, विभिन्न कृषक समूहका प्रतिनिधि, स्थानीय कृषक तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सहभागीहरूले रैथाने अन्नबालीको संरक्षण, उत्पादन वृद्धि र उपभोग विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै राष्ट्रिय कोदो दिवसले कोदोको आर्थिक, पोषण तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको बताएका छन् ।