ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ पात्लेस्थित जंगलमा लोपोन्मुख रेड पाण्डा (हाब्रे)को पहिलो पटक भिडियोमा कैद भएको छ । यससँगै उक्त क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको छ ।
स्थानीय फुरी शेर्पाले जंगलमा देखिएको रेड पाण्डाको भिडियो खिच्न सफल भएका हुन् । यसअघि सो क्षेत्रमा रेड पाण्डाको दिसा (मल) फेला परेपछि यसको बासस्थान रहेको अनुमान गरिए पनि प्रत्यक्ष रूपमा देखिएको वा भिडियोमा कैद भएको यो पहिलो घटना हो ।
खिजिदेम्बा गाउँपालिका–९ का वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पात्ले क्षेत्रमा रेड पाण्डा देखिएको पुस्टी गरेका छन् । यसले उक्त क्षेत्रको वन तथा जैविक विविधता संरक्षणको महत्व स्पष्ट पारेको छ ।
यसैबीच, डिभिजन वन कार्यालय ओखलढुंगाले सामाजिक सञ्जाल फेसबुक मार्फत रेड पाण्डाको उपस्थितिप्रति खुसी व्यक्त गर्दै यसको संरक्षणमा सबै पक्षलाई संवेदनशील बन्न आग्रह गरेको छ । कार्यालयले रेड पाण्डालगायत वन्यजन्तुलाई पछ्याउने, तर्साउने, फोटो वा भिडियो खिच्ने बहानामा अत्यधिक नजिक जाने तथा प्राकृतिक बासस्थानमा कुनै किसिमको अवरोध पुर्याउने गतिविधि नगर्न अनुरोध गरेको छ ।
रेड पाण्डा नेपालको संरक्षित तथा विश्वव्यापी रूपमा लोपोन्मुख वन्यजन्तु हो । यसको संरक्षणका लागि प्राकृतिक बासस्थान, खाद्य स्रोत र शान्त वातावरण जोगाउनु आवश्यक हुन्छ ।
पात्ले क्षेत्रमा रेड पाण्डाको प्रत्यक्ष उपस्थितिको पुष्टि भएसँगै ओखलढुंगाको उच्च वन क्षेत्रमा रहेको समृद्ध जैविक विविधता र दुर्लभ वन्यजन्तुको बासस्थान संरक्षणको आवश्यकता थप उजागर भएको छ ।
भिडियाे यहाँ छ https://www.facebook.com/share/v/1956U9bGJ1/

प्रतिक्रिया