श्रम संस्कृतिको लोकप्रियता बढ्दै छ : हर्क साम्पाङ

भिजन समाचार
10
Shares

ओखलढुंगा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीप्रति जनविश्वास र लोकप्रियता निरन्तर बढ्दै गएको बताएका छन् ।

पूर्वका विभिन्न जिल्लामा संगठन विस्तार तथा श्रमदाता भेटघाट कार्यक्रमका क्रममा बुधबार ओखलढुंगा आएका अध्यक्ष साम्पाङले जिल्ला कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पार्टीको अभियानप्रति नागरिकको आकर्षण बढिरहेकाले केही समूहले विभिन्न बहाना बनाएर विरोध गर्ने गरेको दाबी गरे ।

उनले श्रमदान मार्फत देश निर्माणको अभियानमा लागेको पार्टीको विरोध गर्नुको कुनै औचित्य नरहेको उल्लेख गर्दै श्रमलाई विकासको मुख्य आधार बनाउनुपर्ने धारणा राखे । “देश परिवर्तनको आधार श्रम हो । हामी श्रमदानको संस्कृति मार्फत विकासको नयाँ अभ्यास गरिरहेका छौं,“ उनले भने ।

यसैविच साम्पाङले सुनसरीमा हालै भएको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै घटनालाई संवेदनशील ढंगले समाधान गर्न आग्रह गरे । साथै, सबै नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न अपिल गरे ।

उनले ओखलढुंगाका श्रमदाताले सञ्चालन गर्दै आएका श्रमदानका गतिविधिको प्रशंसा गर्दै सडक मर्मत, पक्की पुल निर्माण, विपन्न परिवारका लागि घर निर्माण लगायतका अभियानलाई थप सशक्त बनाउन आग्रह गरे । संगठन विस्तारसँगै जिल्लाको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न उनले कार्यकर्तालाई आह्वान गरे ।

कार्यक्रमका अवसरमा अध्यक्ष साम्पाङले श्रमदान मार्फत पक्की पुल निर्माण, सडक मर्मत तथा विपन्नका लागि घर निर्माणमा योगदान पु¥याउने श्रमदातालाई सम्मान गरेका थिए । साथै, विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो ।

श्रम संस्कृति पार्टी ओखलढुंगाका जिल्ला अध्यक्ष दर्बराज राईले अध्यक्ष साम्पाङको उपस्थितिले जिल्लाका श्रमदातामा थप उत्साह र ऊर्जा थपिएको बताएका छन् । उनले श्रमदानको अभियानलाई अझ व्यापक बनाउँदै संगठन विस्तारलाई तीव्रता दिइने बताए ।