ओखलढुंगा । ४४औँ बिपी स्मृति दिवसका अवसरमा ओखलढुंगामा ‘वर्तमान राजनीतिक परिवेशमा बिपी विचारको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस ओखलढुंगाले कार्यक्रम आयोजना गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि आङ गेलु शेर्पाको प्रमुख आतिथ्यता र जिल्ला सभापति तेजन खनालको सभापतित्वमा आयोजित कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्थामा पनि बिपीका विचार र आदर्श उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
प्रमुख अतिथि शेर्पाले नेपालको राजनीतिक परिवर्तन, प्रजातन्त्र, राष्ट्रियता र समाजवादको आधार निर्माणमा बिपी कोइरालाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै देशको समुन्नतिका लागि सबै राजनीतिक दलले बिपीका लोकतान्त्रिक मूल्य र आदर्शलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा सहित पार्टीका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), नेकपा लगायत विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
वक्ताहरूले बिपी कोइरालालाई बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्दै लोकतान्त्रिक आन्दोलन, राष्ट्रियता, साहित्य तथा नेतृत्व विकासमा उहाँले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
बिपी कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । विसं २०१५ को आमनिर्वाचन पछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीका रूपमा उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई राज्यको मूल आधारका रूपमा अघि बढाउँदै भूमिसुधार, विर्ता उन्मूलन तथा ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने नीति कार्यान्वयनमा ल्याएका थिए ।
राजनीतिसँगै नेपाली साहित्यमा पनि बिपीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी उनको राजनीतिक, साहित्यिक तथा लोकतान्त्रिक योगदानको सम्मान गरिएको छ ।

प्रतिक्रिया