ओखलढुंगामा पाँच हजार १७७ आर्थिक प्रतिष्ठान

भिजन समाचार
30
Shares

ओखलढुंगामा आर्थिक प्रतिष्ठानको संख्या बढेको छ । दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अनुसार जिल्लामा पाँच हजार १७७ वटा आर्थिक प्रतिष्ठान रहेका छन् ।

यो संख्या पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ को तुलनामा ८३१ वटा अर्थात् १९ दशमलव १२ प्रतिशतले बढी हो । २०७५ को गणनामा जिल्लामा चार हजार ३४६ वटा आर्थिक प्रतिष्ठान फेला परेका थिए ।

जिल्ला जनगणना अधिकारी सुवास राईका अनुसार नयाँ व्यवसाय तथा सेवा क्षेत्रको विस्तार, व्यवसाय दर्तामा वृद्धि, विप्रेषणको लगानी तथा सडक र सञ्चार पूर्वाधारको विकासका कारण प्रतिष्ठानको संख्या बढेको हो ।

गणनाका क्रममा अनुमान गरिएका पाँच हजार ४९१ प्रतिष्ठानमध्ये पाँच हजार १७७ वटाको गणना गरिएको थियो । यो ९४ दशमलव ३ प्रतिशत प्रगति हो । अनुमानित संख्याभन्दा कम प्रतिष्ठान फेला पर्नुमा बसाइँसराइ, नकारात्मक जनसंख्या वृद्धि तथा केही प्रतिष्ठान बन्द वा निष्क्रिय हुनु मुख्य कारण रहेको राईले बताए ।