रुम्जाटार अस्पतालको ओसीएमसी सेवा निरन्तरतामा चुनौती


ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटार मा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को सेवा निरन्तरतामा चुनौती देखिएको छ । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरण असार १५ गतेबाट समाप्त हुने भएपछि सेवा प्रवाहमा जनशक्ति अभाव हुने अवस्था देखिएको हो ।

आइतबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले ओसीएमसी सेवा अवरुद्ध हुन नदिन स्थानीय तहसँग आर्थिक साझेदारी गर्ने तथा स्थायी घटना व्यवस्थापक नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

जिल्लाभरका लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी समन्वय, सुरक्षा तथा पुनःस्थापनासम्मका सेवा उपलब्ध गराउँदै आएको ओसीएमसीलाई निरन्तर सञ्चालन गर्न जिल्लाका स्थानीय तहसँग आर्थिक सहयोगका लागि पत्राचार गर्ने निर्णय गरिएको हो ।

स्थायी घटना व्यवस्थापक नियुक्ति नहुँदासम्म राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रबाट मनोपरामर्श सम्बन्धी छ महिनाको तालिम प्राप्त अस्पतालमा कार्यरत नर्स लक्ष्मी दाहाललाई केन्द्रको केस म्यानेजर को जिम्मेवारी दिने निर्णय गरिएको अस्पताल प्रमुख डा. अमृता श्रेष्ठले जानकारी दिइन् ।

बैठकले स्थायी रूपमा नियुक्त गरिने घटना व्यवस्थापकका लागि आवश्यक योग्यता पनि निर्धारण गरेको छ । निर्णय अनुसार उम्मेदवारले राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रबाट मनोसामाजिक परामर्श सम्बन्धी छ महिनाको तालिम लिएको तथा स्वास्थ्य सेवाको पाँचौँ तहमा कम्तीमा तीन वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ ।

बैठकमा युएनएफपीएका जिल्ला संयोजक रेखा श्रेष्ठले परियोजना मार्फत जिल्लामा भएका गतिविधि, उपलब्धि तथा परियोजना समाप्तिपछि सेवा दिगोपनाका उपायबारे प्रस्तुतीकरण गरेकी थिइन् ।

त्यसैगरी ओसीएमसी फोकल पर्सन निकिता दाहालले जिल्लाको लैंगिक हिंसाको वर्तमान अवस्था, रोकथाम तथा न्यूनीकरणका प्रयास तथा पीडितलाई उपलब्ध गराइँदै आएका स्वास्थ्य, मनोसामाजिक, कानुनी र पुनःस्थापना सेवाबारे जानकारी गराइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ओसीएमसीमार्फत ११३ जना लैंगिक हिंसा पीडितले सेवा लिएका छन् । तीमध्ये १३ जना बलात्कार पीडित रहेका छन् ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समिति संयोजक टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, अस्पताल प्रमुख डा. अमृता श्रेष्ठ लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लैंगिक हिंसा पीडितलाई निरन्तर सेवा उपलब्ध गराउन ओसीएमसीको दिगोपनाका लागि दीर्घकालीन समाधान आवश्यक देखिएको छ ।