कार्यसम्पादन मूल्याङ्कनमा ओखलढुंगा प्रशासन १५ औँ स्थानमा

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये १५औँ स्थान हासिल गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले १७ अंक प्राप्त गरेको हो । प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो स्थानमा रहँदा जिल्ला प्रशासन कार्यालय धनुषा अन्तिम स्थानमा परेको छ ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच प्रत्येक वर्ष हुने कार्यसम्पादन सम्झौताका आधारमा गठित मूल्याङ्कन समितिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाह, बजार अनुगमन, विपद् जोखिम न्यूनीकरण तथा मुद्दा फर्छ्योट लगायतका सूचकका आधारमा मूल्याङ्कन गर्दै नतिजा सार्वजनिक गर्ने गर्दछ ।

यसअघि ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रूपमा मेख बहादुर मंग्राती कार्यरत थिए । उनको उदयपुर सरुवा भएपछि हाल टुवराज पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आगामी मूल्याङ्कनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै कार्यसम्पादनमा निरन्तर सुधार गर्दै लैजाने योजना रहेको जनाएको छ ।