ओखलढुंगा । प्रमुख पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा पर्यटन मार्ग–सूचक (साइन बोर्ड) राखिने भएको छ । डिभिजन वन कार्यालय ओखलढुंगाको पहलमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलसम्म पुग्ने मार्गहरूमा संकेत बोर्ड जडान गर्ने तयारी गरिएको हो ।
यसअन्तर्गत पोकली झरना, देम्बाडाँडा, सेप्ली झरना, चम्पादेवी मन्दिर, रातमाटे झरना लगायतका प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य चोक तथा सडक मार्गहरूमा साइन बोर्ड स्थापना गरिनेछ । पर्यटकीय गन्तव्यहरूको पहिचान, नक्साङ्कन तथा पहुँच सहज बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको जनाइएको छ ।
यस विषयमा डिभिजन वन कार्यालयले मंगलबार सदरमुकाममा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन तथा होटल व्यवसायी र अन्य सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलबाट प्राप्त सुझावका आधारमा चालु आर्थिक वर्षभित्रै बोर्ड निर्माण तथा जडान कार्य सम्पन्न गर्ने तयारी गरिएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अस्मिता न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले जिल्लामा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय स्थलहरू प्रशस्त रहे पनि आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावका कारण पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए । उनले मार्ग–सूचक बोर्ड स्थापनाले पर्यटकलाई सहजता प्रदान गर्नुका साथै जिल्लाको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
डिभिजन वन कार्यालयका प्रमुख मनराज राईका अनुसार स्पष्ट संकेत बोर्डको अभावमा आन्तरिक तथा बाह्य पर्यटकले गन्तव्य पहिचान गर्न कठिनाइ भोग्दै आएका छन् । सोही समस्यालाई समाधान गर्न करिब दुई लाख रुपैयाँको बजेटमा जिल्लाका विभिन्न स्थानमा बोर्ड राख्ने योजना अघि बढाइएको उनले बताए ।
उनले बोर्ड स्थापनापछि पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज हुने, भ्रमण अनुभव थप प्रभावकारी बन्ने तथा ओखलढुंगाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
छलफल कार्यक्रममा ओखलढुंगाको पर्यटन क्षेत्रको सम्भावना, प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान, नक्साङ्कन तथा दीर्घकालीन पर्यटन विकासका विषयमा समेत विस्तृत छलफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । पर्यटन पूर्वाधार विकाससँगै जिल्लाको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया