ओखलढुंगा । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान सिबी राई जेठ महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले कार्यसम्पादन मूल्याङ्कनका आधारमा राईलाई उत्कृष्ट ट्राफिक प्रहरी छनोट गर्दै सम्मान गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार राईले उच्च मनोबल, लगनशीलता तथा कर्तव्यनिष्ठाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कारण उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका हुन् ।
राईले स्थानीय तहसँग प्रभावकारी समन्वय गर्दै मानेभञ्ज्याङ क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सक्रिय भूमिका खेलेका थिए । उनले गाउँपालिकासँगको सहकार्यमा ट्राफिक निगरानी तथा सडक सुरक्षाका लागि आवश्यक ब्रेथलाइजर, ह्वील लक तथा दुई हजार थान टाइम कार्ड व्यवस्थापनका लागि पहल गरेका थिए ।
त्यसैगरी, मानेभञ्ज्याङ गाउँपालिका–४ वडा कार्यालयसँग समन्वय गरी केतुके क्षेत्रमा पाँच स्थानमा ‘नो पार्किङ’ बोर्ड स्थापना गराउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यी प्रयासले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सडक अनुशासन कायम गर्न उल्लेखनीय सहयोग पुगेको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले तालुक कार्यालयबाट प्रदान गरिने यस्ता सम्मानले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई अझ प्रभावकारी बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया