ओखलढुंगामा ‘महिला नै पहिला’ अनुपम अभियान सुरु

भिजन समाचार
20
Shares


ओखलढुंगा । नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्य सहित ओखलढुंगामा ‘अनुपम अभियान’ सुरु गरिएको छ । ‘महिला नै पहिला’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले नीति निर्माणदेखि नेतृत्व तहसम्म महिलाको प्रभावकारी उपस्थिति बढाउने लक्ष्य लिएको छ ।

अन्तर पुस्ता महिलावादी मञ्च (आइजीएफएफ) को आयोजना तथा परिवर्तनशील महिला सामुदायिक संस्थाको समन्वयमा जिल्ला सदरमुकाममा आयोजित कोणसभामार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेको समानता व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा रिता थापाले संविधान लागू भएको करिब डेढ दशक बितिसक्दा पनि महिलाको अर्थपूर्ण सहभागिता अपेक्षाअनुसार सशक्त हुन नसकेको बताइन् ।

टेवा संस्था तथा नागरिक आवाजकी संस्थापकसमेत रहेकी थापाले स्थानीय तहदेखि संघीय संसद्सम्म महिलाको संख्या बढे पनि नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको प्रभावकारी भूमिका अझै सुनिश्चित हुन नसकेको उल्लेख गरिन् ।

उनले कानुनमा रहेका केही प्रावधानको गलत व्याख्या गर्दै ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दहरूको प्रयोगमार्फत महिलाको अनिवार्य सहभागितालाई कमजोर बनाइएको आरोप लगाइन् । अब महिलाहरू नेतृत्व र नीति निर्माणको तहमा अझ सक्रिय रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा छिङ लामु शेर्पा, डा. सुसन रिसाल, हरि बहादुर धामी लगायत स्थानीय महिला नेतृ तथा अधिकारकर्मीहरूले आ–आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै महिलाहरूलाई नेतृत्व र निर्णायक तहमा पुर्‍याउन अहिलेबाटै सशक्तीकरण र तयारी आवश्यक रहेको बताएका छन् । महिला अधिकारकर्मी पेमडोमा शेर्पाका अनुसार अभियानलाई जिल्लाका सबै पालिकामा विस्तार गर्दै निरन्तर सञ्चालन गरिनेछ ।