सुरक्षित वैदेशिक रोजगारीबारे समुदायस्तरमै सचेतना फैलाउन जोड

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा सुरक्षित वैदेशिक रोजगारीबारे समुदायस्तरमै सचेतना फैलाउन स्थानीय सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

रोजगार सेवा केन्द्र सिद्धिचरण नगरपालिकाको आयोजनामा भएकव अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, न्यायिक समिति, मेलमिलापकर्ता तथा अन्य सरोकारवालाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना उपलब्ध गराउने, वैधानिक प्रक्रिया अपनाउन प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगारसम्बन्धी ठगी र जोखिमबाट जोगाउन समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइयो । साथै सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेत ले चालु आर्थिक वर्षको साउन देखि असार २ गतेसम्म एक हजार ३४२ जनाले परामर्श सेवा लिएको जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा केन्द्रमा ९ वटा समस्या दर्ता भएका छन् । जसमध्ये ६ वटा समाधान भइसकेका छन् भने ३ वटा समाधानको प्रक्रियामा छन् । दर्ता भएका समस्यामध्ये ठगीका ३, मृत्यु १, बोर्ड तथा इन्स्युरेन्स क्षतिपूर्तिका लागि रिफर ३ र उद्धारका २ घटना रहेका छन् ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईंले बोर्डबाट श्रमिकका लागि सञ्चालन भइरहेका कल्याणकारी सेवा, उद्धार, राहत तथा पुनर्स्थापना कार्यक्रमबारे जानकारी दिएका थिए ।

सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईले वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने कानुनी प्रक्रिया र आवश्यक सावधानीबारे सहभागीलाई जानकारी गराए ।

नगर प्रमुख तेजन खनालले युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर आत्मनिर्भर बनाउन स्थानीय तह प्रयासरत रहे पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नु चिन्ताको विषय भएको बताए ।

त्यस्तै नगर उपप्रमुख केदारबाबु बस्नेतले सुरक्षित र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनले समुदायमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी अरुण सापकोटाले सुरक्षित आप्रवासन कार्यक्रम वैदेशिक रोजगारसम्बन्धी ठगी, मानव बेचबिखन तथा अन्य जोखिमपूर्ण अवस्थाबाट नागरिकलाई जोगाउने प्रभावकारी माध्यम भएको बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, वडा अध्यक्ष, मेलमिलापकर्ता तथा अन्य सरोकारवालाले समुदायस्तरमै सही सूचना र सचेतना विस्तार गर्न सके वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिनेमा जोड दिएका छन् ।