ओखलढुंगामा विद्यार्थीलाई मतदाता शिक्षा

भिजन समाचार
0
Shares

ओखलढुंगा । निर्वाचनमा बदर मतको संख्या न्यूनिकरण गर्ने उद्देश्यले ओखलढुंगामा विद्यार्थीलाई लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । समुदायमा निर्वाचन सम्बन्धी सचेतना फैलाउन विद्यार्थीमार्फत प्रभावकारी सन्देश पुर्‍याउने लक्ष्यसहित यो अभियान थालिएको हो ।

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको आयोजनामा शुक्रबार बरुणेश्वर माध्यमिक विद्यालय मा विद्यालय स्तरीय मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै अभियानको औपचारिक सुरुवात गरिएको हो ।

कार्यालयको वार्षिक कार्यक्रमअनुसार जिल्लाका १० वटा विद्यालयमा मतदाता शिक्षा प्रदान गर्ने योजना रहेको सूचना अधिकारी बिदुर कुमार बस्नेत ले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली, निर्वाचन प्रक्रिया तथा मतदाताको अधिकार र कर्तव्यबारे आधारभूत जानकारी प्रदान गरिनेछ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुनिता अर्याल लगायतले निर्वाचनको महत्व, मतदान प्रक्रिया, मतदाता नामावली, निर्वाचन आचारसंहिता तथा स्वच्छ र निष्पक्ष निर्वाचनको आवश्यकताबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई भविष्यका सचेत मतदाता तथा जिम्मेवार नागरिकका रूपमा तयार पार्ने उद्देश्यले अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले विद्यालय तथा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मा ओखलढुंगामा प्रत्यक्षतर्फ ३ हजार ३५६ र समानुपातिकतर्फ २ हजार ७१० गरी कुल ६ हजार ६६ मत बदर भएको थियो ।