वातावरण संरक्षणका लागि ओखलढुंगामा वृक्षरोपण

भिजन समाचार
0
Shares

ओखलढुंगा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ । ‘समृद्ध भविष्यको आधारः जलवायुमैत्री एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि वृक्षरोपण गरिएको हो ।

सिद्धिचरण नगरपालिका–११ स्थित कालिका देवी महिला सामुदायिक वनमा ५० भन्दा बढी धुपी तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा ४० बोट कल्की तथा चम्पादेवी गाउँपालिकाको सुनकोशरी माविमा कल्की र तेजपातका बिरुवा रोपिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जलवायु परिवर्तन विश्वकै साझा चुनौती भएकाले वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । डिभिजन वन कार्यालयका प्रमुख मनाराज राईले वृक्षरोपणलाई दीर्घकालीन वातावरणीय संरक्षणको अभियानका रूपमा अघि बढाइएको जानकारी दिए । यसैबीच सिद्धिचरण सामुदायिक वनमा २५० बोट मोसो बाँस समेत रोपिएको छ ।