ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सुरु गरेको ‘घरमै राहदानी’ सेवा अहिले सिद्धिचरण नगरपालिका भित्रमै सीमित बनेको छ । सेवा सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि जिल्लाका सात स्थानीय तहका नागरिकले यसको प्रत्यक्ष लाभ लिन पाएका छैनन् ।
प्रशासनले गत वैशाख १५ गतेदेखि राहदानी नागरिकको घरमै पुर्याउने व्यवस्था लागू गरेको जनाएको थियो । तर हालसम्म सदरमुकाम आसपासकै क्षेत्रमा सेवा सीमित छ । प्रशासनका अनुसार सेवा लिन सकिने व्यवस्था भए पनि अधिकांश नगरका नागरिक स्वयं कार्यालयमै राहदानी लिन आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत मनोज कुमार मगरका अनुसार हालसम्म केवल चार जनाको राहदानी मात्रै हुलाक मार्फत घरमै पुर्याइएको छ, भने थप ११ जनाले यस्तो सेवा माग गरेका छन् । उनका अनुसार अतिरिक्त हुलाक शुल्क तिर्नुपर्ने व्यवस्था र सदरमुकाम नजिकै बसोबास गर्ने सेवाग्राहीको संख्या धेरै भएकाले सेवा अपेक्षा अनुसार प्रभावकारी बन्न नसकेको हो ।
जिल्लाका चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, लिखु, खिजीदेम्बा, सुनकोशी र चम्पादेवी गाउँपालिकाका नागरिकले अझै यो सुविधा पाउन सकेका छैनन् ।
दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा सहज बनाउने उद्देश्य राखिएको भए पनि सेवा विस्तारमा ढिलाइ हुँदा जनताले घोषणा र व्यवहारबीच फरक देखिएको गुनासो गर्न थालेका छन् । विशेषगरी वृद्धवृद्धा, अशक्त तथा टाढाबाट सदरमुकाम धाउनुपर्ने नागरिकका लागि यो सेवा प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले भने केही दिनभित्र प्रमुख जिल्ला अधिकारी र जिल्ला हुलाक कार्यालयबीच संयुक्त बैठक बसेर अन्य स्थानीय तहमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत यो सेवा देशभर सुरु गरिएको छ ।

प्रतिक्रिया