काठमाडौँ । विभिन्न प्रकाशन गृह तथा लोकसेवा र शिक्षक सेवा आयोगका प्रश्नपत्रमा बौद्धमार्गी तथा शेर्पा समुदायबारे भ्रामक सामग्री समावेश भएको भन्दै उठेको विवादपछि सरोकारवालाबीच सहमति भएको छ । नेपाल शेर्पा संघ, नेपाल बौद्ध महासंघ र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको संलग्नतामा सरोकारवालाबीच बौद्धमा छलफल सम्पन्न भएको हो ।
छलफलमा सहभागी लेखक तथा प्रकाशकहरूले सार्वजनिक रूपमा माफी माग्दै गलत सामग्री सच्याउने प्रतिबद्धता जनाएका छन् । विशेषगरी झुमा, ढावा प्रथा तथा अवतरी लामा बन्ने प्रक्रियाबारेका त्रुटिपूर्ण विवरण हटाइ प्रमाणित सामग्री मात्र प्रकाशन गर्ने सहमति भएको छ।
यस क्रममा विद्या विकास प्रकाशन लगायतका प्रकाशन गृहका सामग्रीहरू पुनः संशोधन गर्ने र आगामी दिनमा यस्ता त्रुटि नदोहोर्याउने प्रतिबद्धता जनाइएको छ । साथै लोकसेवा आयोग तथा अन्य शैक्षिक सामग्रीमा प्रयोग हुने प्रश्नहरूको वैज्ञानिक र प्रमाणित आधार सुनिश्चित गर्न संयुक्त पहल गर्ने निर्णय गरिएको छ ।
शेर्पा संघका महासचिव लाक्पा जी. शेर्पाका अनुसार उक्त निर्णयअनुसार पुस्तकमा उल्लेखित भ्रामक सामग्री तत्काल हटाई पुनः संशोधन गरी प्रकाशन गर्न प्रकाशकलाई निर्देशन दिइएको छ । यसले हिमाली समुदायको आत्मसम्मान संरक्षण र तथ्यमा आधारित पाठ्य सामग्री निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको महासचिव शेर्पाले बताए ।

प्रतिक्रिया