ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ निवासी ७० वर्षीय ज्ञानबहादुर राईले लामो प्रतीक्षापछि नेपाली नागरिकता प्राप्त गरेका छन् । बाल्यकालमै अभिभावक गुमाएका कारण उनी नागरिकता प्राप्त गर्नबाट वञ्चित हुँदै आएका थिए ।
वडा कार्यालय, प्रहरी र स्थानीय छिमेकीको रोहबरमा गरिएको सर्जिमिन तथा सनाखत प्रक्रियापछि आज उनलाई नेपाली नागरिकता प्रदान गरिएको हो ।
वडा अध्यक्ष रामकुमार राईका अनुसार, राई बुबाआमाको निधन भएपछि अभिभावकविहीन बनेका थिए, जसका कारण आवश्यक कागजात तथा सनाखत गर्ने व्यक्ति उपलब्ध हुन सकेको थिएन । “लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका उनलाई स्थानीय तह, प्रहरी र छिमेकीको संयुक्त पहलमा नागरिकता दिलाउन सफल भएका हौं,” वडा अध्यक्ष राईले बताए ।
जानकारी अनुसार ज्ञानबहादुर राई परिवारका जेठा छोरा हुन् । उनका माइला भाइ भोर्लेपाखामा लडेर र कान्छा भाइ भारतको सिलाङमा केही वर्ष अघि निधन भएको बताइएको छ । परिवारमा प्रत्यक्ष सनाखत दिने सदस्य नहुँदा प्रक्रिया थप जटिल बनेको थियो ।
अविवाहित रहेका राईलाई आवश्यक कागजात र साक्षीहरूको आधारमा प्रक्रिया पूरा गरी अन्ततः नागरिकता प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । लामो समयपछि नागरिकता पाएसँगै राईले अब राज्यका सेवा–सुविधा तथा कानूनी पहिचान प्राप्त गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया