काठमाण्डाैं । वैदेशिक रोजगारीका लागि युरोप पुगेका ओखलढुंगाका एक युवाको नेपाल फर्किने क्रममा ग्रिसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रमा निधन भएको छ । मोलुङ गाउँपालिका–८ का ३७ वर्षीय राजकुमार राईको ट्रान्जिटमै मृत्यु भएको हो ।
परिवार तथा स्थानीय जनप्रतिनिधिका अनुसार राई चेक रिपब्लिकबाट नेपाल फर्किने क्रममा ग्रिसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सोही क्रममा विमानस्थलको शौचालय क्षेत्रमा उनी बेहोस अवस्थामा फेला परेका थिए । तत्काल आपतकालीन स्वास्थ्य टोली पुगेर उपचारको प्रयास गरे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ ।
राई केही वर्षअघि रोजगारीको खोजीमा नेपालबाट रोमानिया पुगेका थिए । त्यसपछि विभिन्न परिस्थितिबीच उनी चेक रिपब्लिकमा बस्दै आएका थिए । पछिल्लो समय स्वदेश फर्किने तयारीमा रहेका उनी अन्तिम यात्रामै असामयिक रूपमा अस्ताएका हुन् ।
उनकी श्रीमतीका अनुसार एथेन्स पुग्नुअघि श्रीमान्सँग पटक–पटक फोन संवाद भएको थियो । उनले ट्रान्जिटमा पुगेपछि पुनः सम्पर्क गर्ने बताएका थिए ।
घटनाको पुष्टि मोलुङ गाउँपालिका–८ का वडाध्यक्ष सुधिर राईले गरेका छन् । उनका अनुसार मृतकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ । वडा कार्यालय, परिवार तथा सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कागजी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
मृतक राईका परिवारमा बाबुआमा, श्रीमती र दुई छोरी रहेका छन् । घरको मुख्य सहाराकै निधन भएपछि परिवार भावविह्वल बनेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया