‘स्पा’ यौन शोषणको अखडा: उदयपुरकी किशाेरी पीडित

भिजन समाचार
132
Shares
सांकेतिक तस्वीर-एआई

काठमाडौं । पछिल्लाे समय काठमाडौं लगायत देशका विभिन्न शहरमा ‘स्पा’ व्यवसाय खुल्ने क्रम बढ्दाे छ । बसुन्धरास्थित ‘पार्क स्पा’मा १६ वर्षीया किशोरीमाथि यौन शोषण भएको आरोपसहित अदालतमा मुद्दा दायर भएपछि स्पा व्यवसायभित्र हुने अनैतिक गतिविधी बाहिरिएकाे छ ।

उदयपुरको कटारीकी ती किशोरी रोजगारीको खोजीमा गत माघमा काठमाडौं आएकी थिइन् । गाउँमा राम्रो आम्दानीको काम नपाइने र सहरमा अवसर पाइने आशामा आएकी उनी सुरुमा एक डोनट बनाउने कारखानामा काम गरेकी थिइन् ।

तर केही दिनमै काम परिवर्तन गर्दै उनी बसुन्धरास्थित ‘पार्क स्पा’मा पुगेकी थिइन् । अभियोगपत्र अनुसार त्यहाँ उनलाई सामान्य काम र मासिक तलबको प्रलोभन देखाइएको थियो । तर काम सुरु गरेपछि क्रमशः ग्राहकको मागअनुसार व्यवहार गर्न दबाब बढ्दै गएको उल्लेख छ ।

पीडितको बयान उद्धृत गर्दै अनुसन्धान निकायले सुरुमा असहज भए पनि पछि व्यवस्थापन पक्षबाट “ग्राहक खुसी पार्नै पर्छ” भन्ने दबाब दिइएको जनाएको छ । त्यसपछि ग्राहकको मागअनुसार ‘ह्याप्पी एन्डिङ’ गर्न बाध्य पारिएको र त्यसबापत अतिरिक्त रकम दिइने गरिएको विवरण पनि अभियोगपत्रमा समावेश छ ।

काठमाडौंमा एक्लो जीवन, आर्थिक कठिनाइ र सुरक्षित बसोबासको अभावका कारण किशोरी सोही वातावरणमा फस्न बाध्य भएको अनुसन्धानको निष्कर्ष छ ।

२०८३ वैशाख १५ गते प्रहरीले छापा मारेपछि घटना सार्वजनिक भएको हो । त्यसपछि उनलाई ‘माइती नेपाल’मार्फत संरक्षणमा राखिएको र उनले आफूले भोगेको शारीरिक तथा मानसिक शोषणबारे विस्तृत बयान दिएको जनाइएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले स्पा सञ्चालिका अनिता भण्डारी विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा १० देखि १५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ । साथै पीडितका लागि क्षतिपूर्ति र राहत कोषबाट रकम उपलब्ध गराउन पनि माग गरिएको छ ।

यता अभियुक्त भण्डारीले भने आरोप अस्वीकार गर्दै स्पा कानुनी रूपमा सञ्चालन भइरहेको र कुनै जबरजस्ती यौन गतिविधि नभएको दाबी गरेकी छन् । यो घटनाले स्पा व्यवसायभित्रको याैन गतिविधी, शोषण र जोखिम अवस्थाबारे उजागर गरेको छ ।