ओखलढुंगा । जिल्लाकी १३ वर्षीया बालिका साइना महासेठ ले विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रको आधार शिविर (बेसक्याम्प) सम्म पुगेर सफलतापूर्वक फर्किएर असाधारण साहसिक उपलब्धि हासिल गरेकी छिन् ।
सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडाकी साइना करिब ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा बेसक्याम्पसम्म पुगेर २२ दिन लामो कठिन यात्रा पूरा गर्न सफल भएकी हुन् । प्रतिकूल मौसम, चिसो हावापानी, लामो पदयात्रा र उच्च हिमाली जोखिमबीच उनले आत्मविश्वास र धैर्यका साथ यात्रा सम्पन्न गरेकी थिइन् ।
वैशाख १३ गते भारतीय महिला पर्यटक पोपैया रोयसँग सुरु गरिएको पदयात्रा वैशाख २५ गते आधार शिविरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको थियो ।
उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, लगातारको चिसो र कठिन बाटोका कारण बालबालिकाका लागि यस्तो यात्रा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । तर साइना निरन्तर लक्ष्यप्रति अडिग रहँदै यात्रा पूरा गर्न सफल भइन् ।
यात्रापछि साइना अनुभव सुनाउछिन्,“बेसक्याम्प पुगेपछि धेरै रमाइलो भयो, नयाँ मान्छेहरू भेटिए। तर कहिलेकाहीँ खाना नपाउँदा पेट दुख्थ्यो र घरपरिवारको धेरै सम्झना आउँथ्यो ।” उनका अनुसार परिवारको निरन्तर हौसला नै सफलताको मुख्य आधार बनेको हो । “ममी–पापाले सधैँ ‘तँ जे पनि गर्न सक्छस्’ भन्नुहुन्थ्यो । दिदीले पनि हिम्मत नहार्न प्रेरणा दिनुभयो,” उनले बताइन् ।
हाल लालीगुराँस अंग्रेजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत साइना अब अझ ठूलो सपना बोकेर अघि बढिरहेकी छिन् । आगामी दिनमा उचित अवसर र सहयोग पाए सगरमाथा आरोहण गर्ने उनको लक्ष्य रहेको छ । “सबैको साथ र स्पोन्सर पाए अर्को वर्ष सगरमाथा चढ्ने प्रयास गर्छु,” साइना भन्छिन् ।
विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठका अनुसार साइनाको यात्रा अध्ययनसँगै दृढ इच्छा शक्ति र आत्मविश्वासले कठिन लक्ष्य पनि सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ । ओखलढुंगामा स्थायी बसोबास गरेको परिवारका लागि पनि साइनाको यो उपलब्धि गर्वको विषय बनेको छ । साइनाको पुर्ख्याैली घर सिराहा हाे ।

प्रतिक्रिया