लगलगेका कृषकलाई स्वच्छ पशुपालन सम्बन्धी अभिमुखीकरण

भिजन समाचार
26
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–८ लगलगेमा कृषकहरूलाई स्वच्छ पशुपालन तथा गुणस्तरीय उत्पादन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा अजम्बरी पशुपालन कृषक समूहमा आबद्ध ४७ जना कृषक सहभागी भएका थिए ।

कार्यक्रममा स्वच्छ दूध, मासु तथा अण्डा उत्पादन गर्ने तरिका, पशुपालनमा अपनाउनुपर्ने सरसफाइ, जैविक सुरक्षा तथा स्वास्थ्य सुरक्षाका विषयमा जानकारी गराइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. निरोजकुमार माझीले जानकारी दिए ।

उनका अनुसार पशुजन्य उत्पादनमा स्वच्छता कायम गर्न सके उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्यवस्तु पाउने र कृषकको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख गणेश प्रसाद भट्टराईले उत्पादनको गुणस्तर र सरसफाइमा ध्यान दिन सके स्थानीय उत्पादनप्रति बजारको विश्वास बढ्ने बताए ।

उनले सुरक्षित र स्वच्छ पशुपालन अहिलेको आवश्यकता भएकाले कृषकलाई आधुनिक तथा वैज्ञानिक विधि अपनाउन आग्रह गरे ।

स्थानीय कृषकलाई व्यावसायिक, सुरक्षित तथा गुणस्तरीय पशुपालनतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।