ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–८ टारकेराबारीस्थित जाल्पा माध्यमिक विद्यालयका १४४ जना विद्यार्थीलाई निःशुल्क विद्यालय झोला वितरण गरिएको छ ।
ओखलढुंगा विपद् व्यवस्थापन समाजले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई झोला वितरण गरेको हो । समाजले एक लाख रुपैयाँभन्दा बढी लागतमा शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्ने, नियमित अध्ययनमा प्रेरित गर्ने र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले झोला वितरण गरिएको बताए ।
कार्यक्रममा समाजका अध्यक्ष गुरु केदार बरालसहित सदस्यहरू सुरेन्द्र बोगटी, आदित्य मडवारी, दिनेश कार्की र दीपक कटवालको सहभागिता रहेको थियो ।
समाजले विपद् व्यवस्थापनसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालयले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै सामुदायिक विद्यालयप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया