मोलुङको दिवा खाजा अब स्थानिय उत्पादनसँग जोडिने


ओखलढुंगा । मोलुङ गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै विद्यार्थीलाई पोषणयुक्त तथा ताजा खाजा उपलब्ध गराउने अभियान अघि बढाएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउने उद्देश्यले गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा पालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी ३७ विद्यालयका प्रतिनिधि, प्रधानाध्यापक तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राईले विद्यालय दिवा खाजालाई केवल खाना वितरणको कार्यक्रमका रूपमा नहेरी स्थानीय उत्पादन प्रवद्र्धन गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले गाउँमै उत्पादन हुने अन्न, तरकारी तथा कृषि उपज विद्यालयसम्म पु¥याउन सके किसानले स्थायी बजार पाउने र त्यसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गरे ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सरस्वति पौडेलका अनुसार अभिमुखीकरण कार्यक्रममा स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्न प्रयोग गरेर दिवा खाजा तयार गर्ने, बालबालिकालाई स्वस्थ तथा पोषणयुक्त खाना उपलब्ध गराउने तथा किसानका उत्पादनलाई बजारसँग जोड्ने विषयमा छलफल गरिएको थियो ।

गाउँपालिकाका अनुसार दिवा खाजामा मकै, कोदो, फापर, आलु, तरकारी लगायत स्थानीय उत्पादन प्रयोग गर्न सके विद्यार्थीले ताजा र पोषणयुक्त खाना पाउने मात्रै नभई गाउँमै उत्पादन हुने कृषि उपजको मागसमेत बढ्ने अपेक्षा गरिएको छ ।

दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दा किसानलाई बजारको सुनिश्चितता हुने, ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्ने तथा युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले कृषि र पर्यटनमा आधारित “समृद्ध मोलुङ” निर्माण गर्ने लक्ष्यअनुसार विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोडेर कार्यान्वयनमा जोड दिएको जनाएको छ ।