ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर–८ का कृषकलाई जैविक विषादी बनाउने सीपसँगै आवश्यक सामग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले बुधबार ५० जना कृषकलाई जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार गर्ने उद्देश्यले तालिमसहित सामग्री हस्तान्तरण गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत ८५ हजार रुपैयाँ बजेटबाट कृषकलाई ५० लिटर क्षमताका ड्रम र हजारी एक/एक वटा वितरण गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख पेशल खतिवडाले जानकारी दिए ।
कार्यक्रम मार्फत कृषकलाई स्थानीयस्तरमै उपलब्ध वनस्पति तथा जैविक सामग्री प्रयोग गरेर विषादी तयार गर्ने तरिका, प्रयोग विधि र सुरक्षित खेती प्रणालीबारे जानकारी दिइएको थियो । रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्दै सुरक्षित तरकारी तथा खाद्यान्न उत्पादनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
सामग्री प्राप्त गरेपछि जैविक खेती प्रणाली विस्तार गर्न सहज हुने विश्वास कृषकहरूले व्यक्त गरेका छन् । पछिल्लो समय स्थानीयस्तरमा जैविक खेतीप्रति आकर्षण बढ्दै गएकाले यस्ता कार्यक्रमले कृषकलाई थप उत्साहित बनाएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया