ओखलढुंगामा तीन जनाले ल्याए ४ जीपीए

भिजन समाचार
862
Shares

ओखलढुंगा । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अनुसार ओखलढुंगाबाट तीन जनाले ४ जीपीए प्राप्त गरेका छन् ।

लालिगुराँस इङ्ग्लिस बोर्डिङ स्कुलका युजन कार्की र युनिता राजभण्डारी तथा रुम्टारस्थित सनराइज बोर्डिङ स्कुलकी स्नेहा श्रेष्ठले ४ जीपीए ल्याएर जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

सामुदायिक विद्यालयतर्फ कटुञ्जे माध्यमिक विद्यालयका कञ्चन अधिकारीले ३.९५ जीपीए प्राप्त गरेका छन् भने छात्रातर्फ भगवती मावि मानेभञ्ज्याङकी प्रशंसा सार्कीले ३.९४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेकी छन् ।

सार्वजनिक नतिजाअनुसार साधारणतर्फ ७८.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९६.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

साधारणतर्फ कुल २ हजार २६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ हजार ५९५ जना उत्तीर्ण भएका छन् भने ४३१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका सूचना अधिकारी विजयकुमार यादवका अनुसार साधारणतर्फ ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने १४३ जना, ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ४२१ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ६९५ जना, २.४० देखि २.८० जीपीएसम्म ल्याउने ३२१ जना तथा २.०० देखि २.४० जीपीएसम्म ल्याउने १५ जना विद्यार्थी रहेका छन् ।

त्यसैगरी, प्राविधिक धारतर्फ १३४ जना विद्यार्थी सहभागी भएकामा १२९ जना उत्तीर्ण भएका छन् भने ५ जनाको नतिजा एनजी आएको छ । प्राविधिकतर्फ ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने ४० जना, ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ७२ जना तथा २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १७ जना विद्यार्थी रहेका छन् ।

यस वर्ष प्राविधिक धारको नतिजा साधारण धारको तुलनामा उत्कृष्ट देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार गत वर्षको तुलनामा यस वर्ष साधारण धारतर्फको नतिजा केही खस्किएको छ ।