गाउँमै युवालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

भिजन समाचार
38
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाका विभिन्न वडामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर ११, १२ र ३ मा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्ति, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी प्रदान गरिएको सुरक्षित आप्रवासन केन्द्रकी परामर्शकर्ता राधा बस्नेत ले जानकारी दिइन् ।

उनका अनुसार अभिमुखीकरणका क्रममा सुरक्षित वैदेशिक रोजगारका प्रक्रिया, श्रम स्वीकृति, रोजगार सम्झौता, सेवा–सुविधा, सम्भावित जोखिम तथा समस्या न्यूनीकरणका उपायबारे सहजीकरण गरिएको थियो । साथै वैदेशिक रोजगारका क्रममा हुने ठगी, गलत सूचना तथा जोखिमपूर्ण अवस्थाबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी दिइएको थियो ।

कार्यक्रममा तीन वडाबाट जम्मा १६१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराउने सरकारी निकाय, सम्पर्क केन्द्र तथा आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियाबारे समेत जानकारी गराइएको सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ ।