ओखलढुंगा । करिब २५ वर्षदेखि सुनसान बनेको खिजिदेम्बा गाउँपालिका–१ रगनीस्थित चण्डीथान बिहीबार फेरि रौनकताले भरिएको थियो । सुनुवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा ‘श्याँदर पिदार’ पुनः सुरु भएपछि गाउँमा उत्साह फर्किएको छ ।
सुनुवारी परम्परागत पोशाकमा सजिएका पुरुषहरू ढोल–झ्याम्टा बजाउँदै नाचगानसहित चण्डीथान पुगेका थिए भने महिलाहरू पूजा सामग्री साेलीमा बोकेर सहभागी भएका थिए । उभौली–उधौली पर्वको अवसरमा गरिने श्याँदर पिदार विशेषगरी सुनुवार (कोइँच) समुदायको मौलिक पूजा आराधना मानिन्छ ।

सुनुवार समुदायको बाहुल्यता रहेको खिजिदेम्बाको रगनीस्थित यो चण्डीथान पुरानो तथा महत्वपूर्ण थानका रूपमा परिचित छ । आदिवासी जनजाति महासंघ खिजिदेम्बाका उपाध्यक्ष तथा स्थानीय युवा निर्मल सुनुवारका अनुसार पुजारी अर्थात् ‘नाओसो’ नहुँदा दुई दशकभन्दा बढी समयदेखि यहाँ पूजा हुन सकेको थिएन ।
“नाओसो बिना श्याँदर पिदार गर्न मिल्दैन । यसपटक गाउँका अग्रजहरूको छलफल र सहमतिमा नाओसो चयन गरेर पूजा तथा नाच पुनः सुरु गरिएको हो,” उनले भने ।
उनका अनुसार आगामी वर्षदेखि बलिसहित परम्परागत विधिअनुसार पूजा सञ्चालन गर्ने योजना बनाइएको छ । संस्कार र संस्कृति संरक्षणका लागि खेमबहादुर सुनुवारको अध्यक्षतामा संरक्षण समिति समेत गठन गरिएको छ ।
स्थानीय जानकारहरूका अनुसार पछिल्लो समय धर्मान्तरणको प्रभावका कारण सुनुवार समुदायमा चण्डी पूजा गर्ने परम्परा कमजोर बन्दै गएको थियो । आदिवासी जनजाति महासंघ खिजिदेम्बाका अध्यक्ष कमलकृष्ण घिसिङका अनुसार विगतमा श्याँदर पिदारको अवसरमा रगनीको थानमा ठूलो स्थानीय बजारसमेत लाग्ने गर्थ्यो । घिसिङका अनुसार जिल्लाकै पुरानाे र ठुलाे रगनीकाे चण्डीथान हाे ।

सुनुवार संस्कृति अध्येता उत्तमकुमार सुनुवार ‘कोइँचबु का:तिच’का अनुसार श्याँदर पिदार प्रकृति, देवात्मा र प्रेतात्माको सामूहिक पूजा आराधनासँग जोडिएको संस्कार हो ।
उनका अनुसार गाउँका सबै परिवार मिलेर सामूहिक रूपमा गर्ने पूजा नै श्याँदर पिदार हो । यस क्रममा घर–घरबाट पूजा सामग्री तथा बलिका पशुपन्छी ल्याएर सामूहिक रूपमा पूजा गरिन्छ । कतिपय गाउँमा अन्य संस्कारका पूजा सामग्रीसमेत श्याँदरमा मिसाइने परम्परा रहेको उनले बताए ।
श्याँदर सँग विभिन्न लोकविश्वा ससमेत जोडिएका छन् । श्याँदरबाट फर्किंदा कपडाको पुल्ठो बालेर फर्किनुपर्ने तथा ‘सातो चिब्बा’ वा ‘सातो फेर्ब’ हुने जनविश्वासका कारण धेरै मानिसहरू डराउने गरेको स्थानीय बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार खिजिदेम्बा गाउँपालिकाको कुल जनसंख्या १५ हजार ८७८ रहेको छ । त्यसमध्ये सुनुवार समुदायको जनसंख्या ५ हजार १२५ अर्थात् करिब ३२ प्रतिशतभन्दा बढी रहेको छ । खिजिदेम्बाको रगनी, खिजिचण्डेश्वरी, खिजिफलाटे र खिजिकातीमा सुनुवार समुदायको बाहुल्यता छ । स्थानियको अगुवाईमा चण्डिथानको स्तरउन्नती समेत गरिएको छ ।

प्रतिक्रिया