धामी–झाँक्रीको भर पर्दा युवकको ज्यान गयो

भिजन समाचार
516
Shares

काठमाडौँ । धामी–झाँक्रीको विश्वासमा पर्दा ओखलढुङ्गाका एक २९ वर्षीय युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–२ ठूलाछाप निसंखे घर भई हाल काठमाडौँको काँडाघारीस्थित गोठाटार बस्दै आएका दिवेश बुढाथोकी रहेका छन् ।

शनिबार उनलाई खाना अरुचि हुनुका साथै पेट दुखेपछि झारफुक गराउन भन्दै काँडाघारीस्थित भगवती तान्त्रिक सेवा केन्द्र पुगेका थिए । त्यहाँका तान्त्रिक गुरु मोतीबहादुर खड्काले खानामा कसैले आँखा लगाएको भन्दै झारफुक गरेपछि ‘विखमा’ नामको जडिबुटी सेवन गर्न दिएका थिए ।

उक्त औषधि सेवन गरेपछि बुढाथोकी आफ्नो डेरातर्फ फर्किएका थिए । तर कोठामा पुग्नासाथ उनको जिब्रो र मुख सुनिनुका साथै बोल्न नसक्ने अवस्थामा ढलेका थिए । झाँक्रीले फुकेर दिएको खाना समेत उनले खान सकेनन् ।

अवस्था गम्भीर बनेपछि उनकी श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् । आफन्तहरू भेला भएर तत्काल एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

घटनापछि तान्त्रिक गुरु भनिने मोतीबहादुर खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । बुढाथोकी आगामी बुधबार वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा थिए । बुढाथोकीको जन्म चम्पादेवी गाउँपालिका–५ आत्मारा भए पनि पछिल्लो समय परिवार सिद्धिचरण नगरपालिका–२ मा बस्दै आएका थिए । उनका श्रीमती र एक नाबालक छोरा रहेका छन् ।