ओखलढुंगा । खिजिदेम्बा गाउँपालिकास्थित भुसिङ्गा खोलामा हिमस्टार उर्जा कम्पनीले सञ्चालन गरिरहेको निर्माण कार्य स्थानीय बासिन्दाले अवरुद्ध गरेपछि विवाद चर्किएको छ । सहमति बिना खोलाको पानी अन्य आयोजनामा लैजाने तयारी, अस्पष्ट सम्झौता र स्थानीयलाई बेवास्ता गरिएका कारण समस्या सतहमा आएको हो ।
स्थानीयका अनुसार भुसिङ्गा खोला लघु जलविद्युत आयोजनाको अस्तित्व नै संकटमा पर्ने गरी निर्णय लिन खोजिएको छ । उपभोक्ताहरूको सहभागिता बिना गरिएको भनिएको सम्झौता, पानीको स्रोत अन्यत्र मोड्ने तयारी र भविष्यमा आयोजनाको क्षमता विस्तारमा असर पर्ने चिन्ताले उनीहरू आन्दोलित बनेका हुन् । २०८० वैशाख १५ गते गाउँपालिका अध्यक्ष र कम्पनीका अध्यक्षबीच भएको सम्झौता कार्यान्वयन नभएको गुनासोले पनि असन्तुष्टि थप बढाएको छ ।
त्यसैगरी, यदि कम्पनीले खोलाको पानी प्रयोग गर्ने हो भने सो बराबरको विद्युत स्थानीय उपभोक्तालाई उपलब्ध गराउनुपर्ने मागसमेत बेवास्ता गरिएको स्थानीयको भनाइ छ । ट्रान्समिसन लाइन विस्तार भएको खिजिदेम्बा गाउँपालिका–७ (रावादोलु) क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतका विकास निर्माण, वातावरणीय संरक्षण, वृक्षारोपण तथा बाढी–पहिरो नियन्त्रणमा समेत कम्पनी उदासीन देखिएको आरोप छ ।
कम्पनीले पटक–पटकका माग र गाउँपालिकाले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिँदा संवादहीनता बढ्दै गएको छ, जसले गर्दा स्थानीयमा अविश्वास गहिरिँदै विवाद चर्किएको हो । यता, हिमस्टार उर्जा कम्पनीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । खिजिदेम्बा गाउँपालिकाले कम्पनीसँग स्पष्टीकरण माग्दै समन्वय प्रयास सुरु गरेको जनाएको छ ।
स्थानीयले आफ्ना माग सम्बोधन नभएसम्म निर्माण कार्य अघि बढ्न नदिने अडान लिएका छन् र हाल निर्माण पूर्ण रूपमा ठप्प रहेको छ । समस्या समाधानका लागि स्थानीय, कम्पनी र गाउँपालिका बीच पारदर्शी संवाद, स्पष्ट सहमति र विश्वास निर्माण अत्यावश्यक देखिएको छ ।
उता, अर्को जलविधुत् निर्माण कम्पनी ग्रीन भेन्चर्स प्रालि सँग पनि स्थानिय सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । सहमति अनुसारको काम नगरे स्थानियले कडा आन्दोलनको चेतावनी दिएका छन् । अहिले सामाजिक सञ्जालमा कडा विरोध र वहस भईरहेको छ ।
बढ्दो असन्तुष्टिपछि गाउँपालिकाले आयोजनाको प्रवद्र्धक ग्रीन भेन्चर्स प्रालि सँग स्पष्टीकरण मागेको अध्यक्ष गम्बु शेर्पाले बताए । जलविधुत् निर्माण कम्पनीका कारण उत्पन्न समस्या समाधानका लागि समन्वय भईरहेको अध्यक्ष शेर्पाको भनाई छ ।

प्रतिक्रिया