ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८२/८३ मा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै ३४ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई विशेष अभियानमार्फत पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म पक्राउ परेका ३४ जनाबाट १६ वर्ष ३० दिन कैद असुल गरिएको छ भने १९ लाख ८३ हजार ६ सय ८५ रुपैयाँ जरिवाना समेत उठाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर अधिकारीले फरार प्रतिवादी खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।
अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि लुकीछिपी बसिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले विशेष रणनीति अपनाइएको छ । प्रहरीका अनुसार जिल्लामा हालसम्म सजाय पाई फरार रहेका १८४ जना प्रतिवादीमध्ये ३४ जनालाई पक्राउ गरिएको हो ।
फरार प्रतिवादीको खोजीका लागि छुट्टै विशेष टोली गठन गरी परिचालन गरिएको छ । उक्त टोलीले गोप्य सूचना संकलन, आधुनिक प्रविधिको प्रयोग तथा स्थानीय नागरिकको सहयोगमार्फत खोजी कार्यलाई प्रभावकारी बनाएको प्रहरीले जनाएको छ ।
ओखलढुंगा प्रहरीले पछिल्ला वर्षहरूमा फरार अपराधी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि यस अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया