जहाँ बालबालिका, त्यहाँ विद्यालय परिवार


ओखलढुंगा । नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएका छन् । विद्यालयहरूले घरदैलो कार्यक्रममार्फत अभिभावकसँगको सम्बन्ध सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा ध्यान केन्द्रित गरेका हुन् ।

सिद्धिचरण नगरपालिका–४ काे रुम्जाटार माध्यमिक विद्यालय, सुनकोशी गाउँपालिका–९ कटुञ्जे माध्यमिक विद्यालय तथा सिद्धिचरण नगरपालिका–३ नारायणस्थान माध्यमिक विद्यालयले घरदैलो अभियान सञ्चालन गर्दै आएका छन् । अभियान अन्तर्गत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा सरोकारवालाहरू टोल–टोलमा पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

कटुञ्जे माध्यमिक विद्यालयले “जहाँ बालबालिका, त्यहाँ कटुञ्जे मावि परिवार” भन्ने नारासहित अभियान सञ्चालन गरिरहेको छ । प्रधानाध्यापक कृष्ण पुडासैनीका अनुसार विद्यालय व्यवस्थापन समिति अध्यक्ष झनक कुमार कार्की सहितको टोली अभिभावकको घर–घरमै पुगेर विद्यार्थी भर्नाका लागि प्रेरित गरिरहेको छ ।

त्यस्तै, रुम्जाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण बानियाँले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने, बालबालिकालाई समयमै विद्यालय भर्ना गराउने तथा शैक्षिक सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए ।

घरदैलो कार्यक्रममार्फत विद्यालयहरूले आफ्ना शैक्षिक गतिविधि, प्रविधिमैत्री शिक्षण प्रणाली तथा उपलब्ध सुविधाबारे अभिभावकलाई जानकारी गराइरहेका छन् । यसले अभिभावकमा सकारात्मक धारणा विकास भई विद्यार्थी संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

सामुदायिक विद्यालयप्रति घट्दो चासो हटाउँदै अभिभावकसँगको सम्बन्ध सुदृढ बनाउने, विश्वास कायम गर्ने र शिक्षण–सिकाइको गुणस्तर सुधार गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको विद्यालयहरूले बताएका छन् ।