ओखलढुंगा । बुधबार अपरान्ह आएको शक्तिशाली हावाहुरीले जिल्लाका विभिन्न पालिकामा भौतिक संरचनामा व्यापक क्षति पु¥याएको छ । हावाहुरीका कारण घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयका छानाहरू उड्दा ठूलो आर्थिक नोक्सानी भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार मोलुङ गाउँपालिका–८ स्थित वडा कार्यालयको काठसहितको छानो उड्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, चम्पादेवी गाउँपालिकास्थित गाेल्मादेवी माध्यमिक विद्यालयमा जडान गरिएका २०० वाट क्षमताका १० वटा सोलार प्यानल उड्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सान भएको छ ।
चिशंखुगढी गाउँपालिका–४ चिहानडाँडाका खड्गबहादुर खड्काको ढुंगा–माटोको दुईतले घरको जस्ताको छाना पूर्ण रूपमा उड्नुका साथै गारोसमेत क्षतिग्रस्त हुँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोही स्थानका सरोज कार्कीको घरको एक भागको छाना उड्दा करिब ५० हजार रुपैयाँ बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, रुम्जाटारकी साबित्रा दाहालको एकतले पक्की घरको जस्ताको छाना उड्दा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । चिशंखुगढी गाउँपालिकाकै एक स्वास्थ्य चौकीमा जडान गरिएको पानी ट्याङ्कीको गिजर उड्दा थप १ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको छ ।
यसैबीच, मोलुङ गाउँपालिका–४ अन्तर्गत साविक हर्कपुर–६ माझखर्कमा रहेको स्वास्थ्य इकाइ भवनको छानोसमेत पूर्ण रूपमा उडाएको प्रहरीले जनाएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार कुल ९ लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ भने थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया