हुरीबतासले स्वास्थ्य इकाइको छानो उड्यो

भिजन समाचार
122
Shares

ओखलढुंगा । बुधबार अपरान्ह वर्षासँगै आएको हुरीबतासले मोलुङ गाउँपालिकामा एक स्वास्थ्य इकाइमा ठूलो क्षति पुगेको छ । वर्षासँगैको शक्तिशाली हुरीबतासले मोलुङ गाउँपालिका-४ अन्तर्गत साविक हर्कपुर–६ माझखर्कमा रहेको स्वास्थ्य इकाइ भवनको छानो पूर्ण रूपमा उडाएको हो ।

स्थानीय भिसन तामाङका अनुसार हुरीबतासले भवनको छानो उडाएपछि स्वास्थ्य सेवा सञ्चालनमा समस्या उत्पन्न हुने देखिएको छ । उक्त घटनाबारे जानकारी दिँदै तामाङले सम्बन्धित जनप्रतिनिधि तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

घटनापछि स्थानीयवासीहरूले तत्काल मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मानवीय क्षति नभए पनि स्वास्थ्य इकाइकाे छानामा पूर्ण रूपले क्षति पुगेको बताइएको छ । इकाइमा रहेकाे औषधी, कागजपत्र, फर्निचर, उपकरण लगायतका सामाग्रीमा क्षति पुगेको छ ।