काठमाडौं । यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले बुधबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको जनाएको छ ।
विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ ।
यसअघि पनि गत चैत २५ गते विभागले भाडा बढाएको थियो । भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले वैशाख १२ गते स्वीकृति दिएको आधारमा पुनः भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको सन्दर्भमा भाडा समायोजन गरिएको विभागको भनाइ छ । यद्यपि विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने स्पष्ट पारिएको छ । यदि विद्युतीय सवारीले भाडा वृद्धि गरेको पाइएमा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया