ओखलढुंगा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ओखलढुंगामा चालकहरूको आकस्मिक रूपमा ‘लापसे–मापसे’ सेवन अवस्था बारे परीक्षण गरिएकाे छ । चालकले सवारी चलाएकाे समयमा लापसे (लागु पदार्थ सेवन) मापसे (मादक पदार्थ सेवन) गरेनगरेकाे परिक्षण गरिएकाे हाे । यसका साथै चालककाे स्वास्थ्य तथा दृष्टि जाँच पनि गरिएको छ ।
“एक सेकेन्डको लापरवाही, जीवनभरको पछुतो, मदिरा नशासहितको सवारी दुर्घटनाको भारी” भन्ने सचेतनामूलक नारासहित जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त आयोजनामा तथा सिद्धिचरण नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत सवारी साधन रोकेर चालकहरूले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्नुका साथै रक्तचाप र आँखाको दृष्टि जाँच गरिएको थियो । सो क्रममा ३५ जना चालकको ‘लापसे–मापसे’ परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको प्रहरीले जनाएको छ ।
जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्म ४३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते र दर्जनौँ सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार दुर्घटनाका प्रमुख कारणमध्ये मापसे–लापसे, उच्च रक्तचाप, अनिद्रा, कमजोर दृष्टि तथा अस्वस्थ चालक अवस्था रहेका छन् । यिनै जोखिम न्यूनीकरणका लागि चालकहरूमा सचेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
कार्यक्रममा संघीय सांसद विश्वराज पोखरेलले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले दुर्घटना रोकथामका लागि चालक र यात्रु दुवै सचेत र सतर्क हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया